-->
29 वर्षपछि तोडियो ४० दिने बन्दको रेकर्ड

29 वर्षपछि तोडियो ४० दिने बन्दको रेकर्ड

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ २4 जुलाई। गोर्खाल्याण्ड राज्यको मागमा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले ८०को दशकमा चलाएको ४० दिने बन्दको रेकर्ड २९ वर्षपछि तोडिएको छ। गोरामुमो अध्यक्ष स्व सुवास घिसिङले छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै पहाडमा हिंसात्मक आन्दोलन चर्काएपछि पहिलोपल्ट ४० दिनको रेकर्ड बन्द भएको थियो। 
आन्दोलनकै क्रममा गोरामुमोले २७ जुलाई १९८६ का दिन सन् १९५०को भारत नेपाल मैत्री सन्धि जलाउने कार्य गर्दा सीआरपीको गोलि चल्दा १२ सय भन्दा अधिक सहिद बनेका थिए। सीआरपीको गोलिले आन्दोलनकारीहरू मारिएपछि पहाडमा झनै आन्दोलन उग्र बनेको थियो। त्यसपछि गोरामुमो अध्यक्ष स्व. सुवास घिसिङले गोर्खाल्याण्ड आन्दोलनलाई तिब्र पार्दै १० फरवरी १९८८का दिनदेखि पहाडमा रेकर्ड ४० दिने बन्द डाकेको थियो। गोर्खाल्याण्ड राज्य प्राप्तिको आन्दोलनलाई अघि बढाउँदै सन् १९८८मा डाकेको ४० दिने रेकर्ड बन्द २९ वर्षपछि गोर्खाल्याण्डकै मागमा तोडिएको छ। १५ जुन २०१७ का दिनदेखि गोर्खा जनमुक्ति मोर्चाले छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै  पहाडमा अनिश्चितकालिन बन्द डाकेपछि बन्दले आजको दिन लगाएर 40 दिन पुरा गरिसकेको छ। सन् १९८८ मा गोर्खाल्याण्डको निम्ति पहिलोपल्ट भएको ४० दिने रेकर्ड बन्द दोस्रोचोटि पुन: पुरा भएर अझै अर्को रेकर्ड कायम गर्दैछ। भारतमा छुट्टै राज्य प्राप्तिको निम्ति गरिएको दुई-दुई चोटिको रेकर्ड ४० दिने बन्द यो नै ऐतिहासिक घट्ना हो।

‘४० दिनको बन्द १० फरवरी १९८८ का दिनदेखि सुरु भएको हो। ४० दिने बन्द सुरु भएको ठिक हप्तादिनपछि डम्बर चौक नजिक आगलागीको घट्ना भएको थियो। त्यसबेला मेरो दाजु तत्काल मानिसहरूलाई सहयोग गर्न निस्केका थिए। त्यहीँ समय अचानक सीआरपीले चलाएको दुईवटा बुलेटले लागेर मेरा दाजु सहिद बनेका हुन्’ ५८ वर्षिय सहिदका भाइले आफ्ना नाउँ उल्लेख नगरिदिने आग्रह गर्दै भने। ‘त्यसबेला स्थिति साह्रै खतराजनक थियो। बाहिर निस्कन गाह्रो पर्थ्यो। आर.के हाण्डा सीआरपी लिएर बजारमा पेट्रोलिङ गर्न निस्कन्थे। सडकमा दिउँसै गोलि चल्थ्यो। त्यसबेलाको बन्द हेरेर अहिलेको बन्दमा पनि धेरै शान्ति छ’ उनले अझ भने।

‘४० दिनको बन्दमा पनि सीआरपी लगाएर त्यसबेलाका आर.के हाण्डाले दोकानहरू सबै खोल्न लगाउँथे। दोकान नखोले ताला नै तोडिदिन्थे। यता सीआरपीले दोकान खोलेर जान्थे अनि पछि आन्दोलनकारी आएर किन दोकान खोलेको भन्दै पुन: दोकान बन्द गर्न लगाउँथे। व्यापारीवर्गलाई सुरक्षाबल र आन्दोलनकारी दुवैबाट डर थियो’ ७० वर्षिय व्यापारी सञ्जय अग्रवाल (परिवर्तित नाउँ) ले भने। ‘गोलि पड्कन सामान्य थियो। आन्दोलन हिंस्रक भएको कारण सीआरपीले आन्दोलनकारीलाई सोझै गोलि ठोक्थे। त्यसबेला धेरैको ज्यान गयो। सीआरपीएफ र आन्दोलनकारी माझ बारम्बार झडप हुन्थ्यो। त्यसबेलाको आन्दोलन एकदमै उग्र थियो। उग्र आन्दोलन भएको कारण यता आन्दोलनकारीले पनि गोलि चलाउँथे उता सीआरपीले पनि गोलि चालाउँथे’ उनले अझ भने। अस्सीको दशकमा चलेको आन्दोलनलाई हेरेर अहिलेको आन्दोलन धेरै नै शान्तिमय रहेको पनि उनले बताएका छन्। ‘अहिले त बन्दको समयमा पनि मानिसहरूले पहिलेका जस्ता दु:ख पाएका छैनन्। सौदा पात कम-से कम दोकानहरूबाट पाइरहेका छन्। आन्दोलनकारी भोकै छैनन्। बन्दको समयमा यता आन्दोलनलाई अघि बडाउँन शहरमा नै एक समयको खाना खानु सौभाग्य हो। त्यसबेला त खानाको समेत धैरै नै समस्या थियो’ उनले अझ थपे।

‘स्व. सुवास घिसिङले थालेको गोर्खाल्याण्डको आन्दोलनले सबैलाई भावानात्मक सम्बन्ध जगाएको कारण सबैजना आन्दोलनमा सक्रिय बनेर ओर्लिएका थिए। आज जसरी सडकमा बन्दको समयमा मानिसहरूले जुलुस गर्छन् त्यसबेला जुलुसमा अहिलेको जस्तो निस्कन गाह्रो थियो। सडकमा सीआरपीको रग-रगी हुन्थ्यो। गोर्खाल्याण्ड भोलेन्टियर सेल (जीभीसी) का कार्यकर्ताहरू निस्कन्थे। सीआरपी र जीभीसी भेट भए सोझै गोलिबारी चल्थ्यो। अहिलेको ४० दिने बन्द भन्दा त्यसबेलाको ४० दिने बन्द साँच्चै भयानक थियो’ ७९ वर्षित विरधोज मगरले भने। ‘पहिलेको आन्दोलनमा यातायातको भनेजस्तो सुविधा थिएन। मानिसहरू पैदल हिँडेर सिक्किमको मल्ली पुग्थे। त्यसबेला तत्कालिन सिक्किमका मुख्यमन्त्री नरबहादुर भण्डारीले यताको गोर्खाल्याण्ड आन्दोलनलाई धेरै सहयोग गरेका छन्। बङ्गाल सिक्किमको सिमा मल्लीमा राशन पानीको व्यवस्था हुन्थ्यो। यताबाट पैदल गएका मानिसहरूले मल्लीबाट राशन लिएर आउने गर्थ्यो’ उनले अझ भने। यसक्रममा उनले अहिलेको यतिका लामो बन्दमा पनि मानिसहरू अनुमति लिई वाहन लिएर बाहिर जान सक्ने सुविधा रहेको बताउँदै पहिला त्यस्तो सुविधा नरहेको पनि जानकारी दिएका छन्।

‘सुवास घिसिङले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलन चलाउँदा म १४ वर्षको उमेरमा जीभीसीमा भर्ना भए। त्यसबेला कक्षा ९ मा पड्दै थिए। जीभीसीमा लागेपछि १० दिनको ट्रेनिङ भयो। त्यस ट्रेनिङ पछि हामी आन्दोलनमा सक्रिय बनेर निस्केका हौँ। माटोको आन्दोलनमा मर्नका निम्ति त्यसबेला कुनै डर थिएन। हामीलाई केवल गोर्खाल्याण्ड चाहिको छ भनेर आन्दोलन लडेका थियौँ। तर हामीलाई त्यस आन्दोलनको कस्तो परिणती हुनेछ भन्ने चाहीँ थाह थिएन’ महेन्द्र गुरुङले भने। ‘त्यसबेला आन्दोलन हिंस्रक थियो भने आजको आन्दोलन शान्तिपूर्ण छ। आज मेरो उमेर ४५ वर्ष पुग्यो अनि आज पनि हामी गोर्खाल्याण्डै आन्दोलन गर्दैछौँ। तर अहिलेको आन्दोलन हिंस्रक नभएर शान्तिपूर्ण र वौद्धिक आन्दोलन छ। आन्दोलन गर्नेहरू अहिले सचेत बनेका छन्। हामी यस वौद्धिक आन्दोलनबाट निश्चित सकारात्मक टुङ्गोमा पुग्ने विश्वास गर्छौँ’ महेन्द्र गुरुङले अझ भने।

‘सुवास घिसिङले चलाएको गोर्खाल्याण्ड आन्दोलनमा त्यसबेला म गोरानामो उपाध्यक्ष थिएँ। हामी नारीहरू पनि कम्मरमा खुकुरी बोकेर हिँड्थ्यौँ। माटोको निम्ति मर्न र मार्न डर थिएन। त्यहीँ आन्दोलनको क्रममा कालेबुङमा २७ जुलाईमा चलेको गोलिबारीमा मेरो खुट्टामा लागेको सीआरपीको गोलि अझै यहीँ छ। डाक्टरले निकाल्न नसकेपछि बुलेटनै बोकेर बाँचेकी छु’ ६८ वर्षिय भक्त थापाले आफ्नो दाहिले खुट्टामा सीआरपीएफको बुलेट लागेको दाग देखाउँदै भनिन्। २
७ जुलाई पछि पहाडमा चलेको ४० दिनको बन्द अवधी एकदिन पुलिसले कतिपय विद्यार्थीहरूलाई पक्राऊ गरेपछि आफुहरू उक्त विद्यार्थीहरूलाई छुटाउनका निम्ति थानामा जाने क्रममा एकजना सीआरपीएफका जवान आफ्ना साथीहरूसँग छुटेको अवस्थामा भेट्दा खुकुरीले काट्ने मौका पाएर पनि छोडिदिएको उनले थपिन्। ‘सीआरपीलाई काट्ने मौका पाएका थियौँ। जोस पनि थियो। त्यसबेला आफ्ना साथीहरूबाट छुटेका सीआरपीका जवानले हात जोडेर नै जीवनको भीख मागे। त्यो दृष्य साँच्चै दयनीय थियो। यतिसाह्रो दयनीय बनेर जीवनको भिख मागेपछि उनलाई हामीले काटेनौँ’ भक्त थापाले अझ भनिन्। त्यसबेला आफुहरू आन्दोलनमा सक्रिय बनेको कारण एकाधिक मुद्दाहरू पुलिसले लगाएको अनि कतिपय मुद्दाहरूमा अझै पनि वारन्ट आउने गरेको उनले बताइन्। ‘त्यसबेलाको स्थिति हेरेर अहिले धेरै शान्ति छ। त्यतिबेलाको जस्तो सीआरपीएफले छापा मार्ने कार्य अहिले  गरेको छैन, भनौ पुलिसको कार्यवाही शुन्यप्राय छ। आन्दोलनकारीलाई पक्राऊ गर्न आउने सीआरपीएफले त्यसबेला धेरै डकैति गरेको हो। आज त्यस्तो परिस्थिति छैन’ उनले अझ भनिन्।

छुट्टै राज्य गोर्खाल्याण्ड आन्दोलनको क्रममा गत १५ जुनदेखि सुरु भएको अनिश्चितकालिन बन्दले आज ४० दिन पुरा गर्नेछ। १० फरवरी १९८८ देखि चलेको ४० दिने बन्दको रेकर्डलाई १५ जुन २०१७ देखि सुरु भएको अनिश्चितकालिन बन्दले आज पुरा गर्यो। गोर्खा राष्ट्रिय मुक्ति मोर्चाका संस्थापक स्व. सुवास घिसिङले चलाएको अस्सीको दशकको आन्दोलन हिंसात्मक थियो भने यसपल्ट चलेको आन्दोलन गणतान्त्रिक पद्धतिमा चलिरहेको छ। यद्यपी यस गणतान्त्रिक आन्दोलनमा पनि अहिलेसम्म पुलिस प्रशासनले चलाएको गोलि लागेर मोठ ९ जना गोर्खाल्याण्ड आन्दोलनकारीहरूको मृत्यु भइसकेको छ। यस्तो अवस्थामा जारी अनिश्चितकालिन बन्द अझ कतिदिनसम्म चल्ने हो सबैको मनमा ठुलो चिंता भएको छ।
भनाइहरु यसप्रकार छन -यतिका दिनसम्म त जसोतसो थाम्यौ , सबै भन्दा ठुलो कुरो कमाइ छैन, कर्मचारीले तलब नपाएको दुइ महिना हुन लाग्यो, हातमा जम्म्मा गरेर राखेको र् भएको पैसा अब प्राय शेष भैसक्यो, हुनेहरुको ब्यांकबाट पैसा निकाल्ने व्यवस्था पनि छैन ।यही चिंताले सबैजना ग्र्स्त छन। यो आन्दोलनले त आजसम्मको आन्दोलनमा सबैभन्दा बेसी जनसमर्थन पाएको छ, त्यही पनि कसैको आहवान विंति या प्रसिद्धिले होइन नत मान्छे या पार्टि हेरेर समर्थन जनाइएको हो, अनि समर्थन संगै सबैले देश विदेश सबै स्थानमा प्रदर्शन पनि गरेकै हुन। तर यसभन्दा पनि बडी महत्वपूर्ण कुरो भने खासै कुनै हरियो संकेत आजसम्म नपाइएकोले कता कता आंन्दोलनलाई लाइनच्युत गर्ने प्रयास भैरहेको आशंकाले अब यो आन्दोलनले कस्तो मोड लिने हो अनि के उपलब्धि हासिल गर्ने हो भन्ने प्रश्नको उत्तर भने कसैसित रहेको छैन।

0 Response to "29 वर्षपछि तोडियो ४० दिने बन्दको रेकर्ड"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.